
वीरगंज, २६ मंसिर
सहकर्मीहरुमाथि उपप्रमुख सहित उनको सचिवालयको टोलीले गरेको अभद्र व्यवहारको विरोध गर्दै वीरगंज महानगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् ।
स्थानीय तह कर्मचारी संघ वीरगंज महानगर इकाई समितिले मंगलबार महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाउँदै भोलीदेखि कालोपट्टी बाँधेर विरोधको कार्यक्रम सुरु गर्ने जानकारी दिएका हुन् ।
समितिले महानगरमा विभिन्न महाशाखा शाखाहरुमध्ये स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गतको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखालाई व्यवस्थित गर्न लाग्दा प्रमुख प्रशासकीय अधिकृतमाथि नै कार्यपालिका सदस्य समेत रहेका कन्हैया ठाकुरले गालिगलौज गर्दै अभद्र व्यवहार गरेको प्रति खेद व्यक्त गर्दै आन्दोलन गर्न बाध्य भएको जनाएको छ ।
नेपाली कांग्रेसबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका ठाकुर उपप्रमुख इम्तियाज आलम निकट व्यक्ति हुन् ।
यस्तै पंजिकरण शाखा व्यवस्थित गराउन लागेका कर्मचारीहरु अमृता शास र रनु दासलाई पनि उपप्रमुख आलमको स्वकीय सचिव रहेका शेष हजराले अश्लील गाली गलौज गर्दै अभद्र व्यवहार गरेको प्रति पनि इकास समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उपप्रमुखकै सचिवालयमा कार्यरत कर्मचारी (शिक्षक) रविनन्दन सिंहले समेत कृषि शाखामा कार्यरत कृषि अधिकृत रोशनी यादवलाई पटक पटक डर, धाक धम्की दिँदै गाली गलौज गर्ने गरेको घटना निन्दनीय रहेको पनि इकाइ समितिले जनाएको छ ।
उपप्रमुख र उनको सचिवालयको टोलीले प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीहरुलाई अभद्र व्यवहार गर्ने गरेकाले आफूहरु बाध्य भएर आन्दोलित हुनु परेको इकाई समितिका अध्यक्ष मुकेश गुप्ताले बताउनुभयो ।
उपप्रमुख तथा उनको सचिवालय सदस्यहरुको कार्यशैलीको विरोधमा बुधबार र बिहीबार २ दिन हातमा कालो पट्टी बाँधेर काम गर्ने र त्यस पछि पनि समस्याको निकास ननिस्किए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष गुप्ताले बताउनुभयो ।
महानगरका सम्पूर्ण कर्मचारीहरुको मान मर्दन तथा असुरक्षित भएको महसुस हुन आएकाले बाध्य भएर विरोधमा उत्रनु परेको भन्दै गुप्ताले यसलाई तत्काल निकास दिन पनि उहाँले प्रमुखअ सिंहसँग आग्रह गर्नुभयो ।
महानगर प्रमुखलाई ज्ञापन पत्र बुझाउन इकाई समितिका अध्यक्ष गुप्ता सहित उपाध्यक्ष सुधिर जंग राण, सचिव पवन प्रधान, सहसचिव मन्जित यादव, सुभद्रा बन्जरा लगायतको टोली पुगेको थियो ।
यस अघि मंगलबार (आज) बिहान पंजिकरण शाखा व्यवस्थित गर्ने विषयमा उपप्रमुख सहित उनको सचिवालयको टोली र वडाअध्यक्षहरु बीच विवाद हुन पुगेको थियो । विवादलाई उग्र हुन नदिन जिल्ला प्रहरीको टोली दिन भर महानगरमा तैनाथ भएको थियो ।
युथ्स अफ बिरगंज
पंजिकरण सेवालाई बृद्धबृद्धा तथा अपाङ मैत्री बनाउन वीरगंजका उपमेयर नै बाधक

वीरगंज, २६ मंसिर
वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको गैरजिम्मेवारिका कारण सेवाग्राहीले मर्का खेप्नु परेको छ ।
कार्यालय संचालनको विषयलाई लिएर उपप्रमुख आलमले देखाएको गैरजिम्मेवार प्रवृत्तिका कारण बृद्धबृद्धा तथा पंजिकरणको काम लिएर आएका सेवाग्राहीले सास्ति भोग्नु परेको हो ।
कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बस्ने गरेको कार्यकक्ष सारेसँगै पहिले रहेको कार्यकक्षमा पंजिकरण शाखा सार्ने विषयमा उपप्रमुखले अवरोध गरेपछि सेवाग्राहीले सास्ति भोग्न परेको वडा नं. १७ का वडाध्यक्ष संजिव बहादुर क्षेत्रीले बताउनुभयो ।
पहिले प्रमुख प्रशासकीय अधिकृत बस्ने गरेको कार्यालयलाई पंजिकरण शाखामा रुपान्तरण गर्न वडाअध्यक्षहरुले नै पहल गर्दा उपप्रमुख सहित उनको सचिवालयका समर्थकले अवरोध गर्दै सेवा प्रवाहमा रोक लगाउन खोजेपछि विवाद भएको थियो ।
महानगरका अधिकांस वडाका वडाध्यक्षले पंजिकरण शाखाका लागि उक्त कार्यालय सहज हुने निर्णय गर्दै बिहान आफ्नै उपस्थितिमा पंजिकरणको काम गराउन लाग्दा उपमेयरसहित उनको सचिवालयले अवरोध गरेपछि केही बेर तनाब उत्पन्न हुन पुगेको हो ।
कार्यालयको प्रशासनिक र आर्थिक अधिकार प्रमुख प्रशासकीय अधिकृतको रहनेभएकाले आफूले वीरगंजवासिकै सहजताका लागि साँघुरो कोठामा रहेको पंजिकरण शाखालाई फराकिलो र सेवामैत्री बनाउन उक्त कोठामा लैजान लागेको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताउनुभयो ।
वडा नं. २६ का वडाध्यक्ष शम्भु मिश्रले आफ्नो दायरा नबुझ्दा आजको अवस्था आएको भन्दै प्रमुख उपप्रमुख दुबैले आफ्नो दायरा जानकारी लिन आग्रह गर्नुभयो ।
कार्यालयको कुनै शाखा सार्ने विषय कार्यालय प्रमुखको अधिकारमा निहित रहेकाले त्यसलाई सहजिकरण गर्न सहयोग गर्नु पर्नेमा विवाद निकालेर सेवाग्राहीलाई दुख दिने कार्य हुनु अशोभनीय रहेको पनि उहाँले बताउनुभयो ।
यस्तै वडा नं. ७ का वडाध्यक्ष हिराकाजी महर्जनले जनताको सेवा प्रवाह गर्ने कार्यालयमा सामान्य विवासयमा कसैले पनि विवाद गर्न नहुने भन्दै कार्यालय संचालनको विषयमा विवाद गरेर जनतालाई दुख नदिन आग्रह गर्नु भयो ।
पंजिकरण शाखालाई बृद्धबृद्धा तथा अपाङ मैत्री बनाउनु आजको आवश्यकता रहेकाले यसमा उपमेयर बाधक बन्नु निकृष्ट कार्य भएको वडा नं. २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीले बताउनुभयो ।
केही बेर भएको विवाद भए पछि प्रहरी परिचालन गरेर अवस्था सामान्य बनाएको थियो ।

वीरगंज, २४ मंसिर वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्परा बचाई राख्नु पर्नेमा जोड दिनुभएको छ ।
पहिचानको आधार नै परापूर्वकालदेखि चल्दै आएको परम्परा, रितिरिवाज रहेको भन्दै यसलाई जीवन्त राख्नु पर्नेमा उहाँले जोड दिनुभएको हो ।
आइतबार महानगरपालिकाका मुस्लिम समुदायको भेलाबीच गठन भएको ‘मुस्लिम समुदाय सामाजिक तथा सांस्कृतिक उत्थान सुझाव समिति’को औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धार्मिक सहिष्णुतासहितको मौलिक समाज निर्माण गर्ने कार्यमा सबै लाग्न आग्रह पनि गर्नुभयो ।
केही उच्छृङखल व्यक्तिका कारण वर्षौँदेखि एक ढिक्कामा रहेको समाज टुक्रयाउने खेला भइरहेको प्रति सबै सजग र सचेत भएर त्यसका विरुद्ध एक भएर लाग्नु पर्ने पनि बताउनुभयो ।
वीरगंज महानगरपालिका भित्र बसोबास गर्ने सम्पूर्ण मुस्लिम समुदायको सामाजिक तथा सांस्कृतिक पक्षहरुको अध्ययन एवं अनुसन्धान गरी आवश्यक सुझाव पेश गर्ने गरि महानगरद्वारा ‘मुस्लिम समुदाय सामाजिक तथा सांस्कृतिक उत्थान सुझाव समिति’ गठन भएको हो । महानगरको ३२ वटै वडाबाट सदस्य रहने गरि समितिको संयोजको जिम्मेवारी महम्मद अब्बास मंसुरीलाई दिइएको छ ।
कार्यक्रममा वीरगंज महानगरपालिकाको वडा नं. १४ का वडाध्यक्ष महबुब एलाही, मौलाना असगर मदनी, खुश महम्मद, शेष लाल महम्मद, कलिमुल्लाह मियाँ ठकुराई, खैरुद्धिन मियाँ लगायतको सहभागिता रहेको थियो ।

वीरगञ्ज । बारामा १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले प्रसौनी गाउँपालिका – ४ खुटवा निवासी २६ वर्षीय साजिद अन्सारीलाई नियन्त्रणमा लिएको हो ।
कात्तिक १९ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय बारामा दिएको उजुरीको आधारमा अन्सारीलाई नियन्त्रणमा लिइएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।
बालबालिकालाई ‘एनिमल’ फिल्म देखाउने वान सिनेमाज हलविरुद्ध कार्वाही सिफारिस
काठमाडौँ । चलचित्र विकास बोर्डले ‘एडल्ट’ फिल्ममा १६ वर्षमुनिका बाल दर्शकलाई समेत टिकट बिक्री गरिएको पाइएको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ ।
बोर्डका अनुगमन समिति संयोजक राजु केसीले अहिले चलिरहेको हिन्दी फिल्म ‘एनिमल’मा बाल दर्शकलाई पनि हलभित्र प्रवेशको अनुमति दिइएको पाइएको र यसविरुद्ध आफूहरु कडाइको साथ प्रस्तुत हुने बताए ।
केसी संयोजकत्वको टोलीले सोमबार बेलुका नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा छड्के अनुगमन गरेको थियो । चेकजाँचका लागि हलको टोली त्यहाँ पुग्दा बालबालिकालाई पनि टिकट बिक्री गरी फिल्म देखाइएको भेटिएको बोर्डद्वारा प्रेषित विवरणमा उल्लेख छ ।
हल व्यवस्थापनलाई तत्काल टिकट फिर्ता गर्न लगाइएको थियो । नेपालको सेन्सर बोर्डले १६ वर्षभन्दा मुनिकाले हेर्न नपाउने सर्तमा ‘एनिमल’लाई एडल्ट सर्टिफिकेट दिएको थियो ।
श्रोत:- ऑनलाइनखबर

वीरगंज,
मिति २०८०।०८।१५ गते अं.१७;०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्तीचोक स्थित सडकखण्डमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र यस कार्यालय मातहत प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले भारतबाट वीरगञ्जतर्फ आउने सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा ना.३० प ७७४६ नम्बरको स्कुटीलाई रोकी कानूनी रीतपुर्याई खानतलासी गर्दा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.१ बस्ने वर्ष २४ को समिप श्रेष्ठ र पछाडी सवार ऐ.ऐ.बस्ने वर्ष २८ को सुवास पौडेलले लगाएको हुडी भित्र बाँया हाँतको भागमा लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थ ०.६२० मि. ग्राम फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको ।
बेवारिसे अवस्थामा रहेको राधादेवी मेमोरिय स्कुल अब महानगर र लायन्सले संयुक्त संचालन गर्ने

वीरगंज, १७ मंसिर
वीरगंजको आदर्शनगरमा रहेको राधादेवी स्कुल अबदेखि वीरगंज महानगरपालिका र लायन्स क्लबले संयुक्त रुपमा संचालन गर्ने भएको छ ।
विद्यालय संचालनका लागि विगत ४२ वर्ष अघि जग्गा दान गर्ने जग्गा दाता मुरलीधर शर्मालाई आइतबार एक कार्यक्रका बीच अभिनन्दन गर्दै उनको स्वर्गीय आमाको नामबाट स्थापना भएको स्कुल अबदेखि महानगर र लायन्स दुबैले संयुक्त रुपमा संचालन गर्ने सहमति भएको हो ।
विगतमा बेवारिसे अवस्थामा रहेको स्कुललाई पुनर्जीवन दिएर नयाँ ढंगबाट गुणस्तरीय पठन पाठनको व्यवस्था मिलाउने गरी संचालन गरिने महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।
उहाँले विद्यालय संचालनका लागि करोडौँ मूल्यको जग्गा उपलब्ध गराउने शर्मा परिवारलाई आभार प्रकट गर्दै अहिलेको समयमा पनि व्यक्तिगत भन्दा सामाजिक हितका लागि दान गर्ने शर्मा समाजकै लागि उदाहरणीय व्यक्ति रहेको बताउनुभयो ।
जग्गा दाता परिवार र लायन्सको सोच अनुरुप विद्यालयलाई गुणस्तरीय र सबैको पहुँचमा रहने गरी पठन पाठन गराउने व्यवस्था महानगरले गर्ने भन्दै उहाँले त्यसका लागि आवश्यक गृहकार्य गर्न शिक्षा महाशाखालाई निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा वरिष्ठ उद्योगी अशोक वैद्यले बेवारिसे अवस्थामा रहेको विद्यालयलाई पुनर्जीवन दिन महानगरले थालेको कदम सह्रानीय रहेको बताउनुभयो ।
विद्यालय संचालनका लागि मुरलीधर शर्माले २०३८ असार १५ गते ७ कट्ठा ५ धुर जग्गा विद्यालयको नाममा रजिष्टर्ड गरेरै दान दिनुभएको थियो । मुरलीधर शर्मा र उनको धर्मपत्नी विमलादेवी शर्मालाई प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
विद्यालय संचालनका लागि दान गरेको जग्गामा गएको ४२ वर्षदेखि विद्यालय संचालन बेवारिसे रुपले भइरहेको भन्दै जग्गा दाता शर्माले असन्तोष व्यक्त गर्दै आउनुभएको थियो ।
अब भने महानगरले नै विद्यालय संचालन गर्ने जमर्को गरेकाले गुणस्तरीय र सबैको पहुँचमा रहने गरि विद्यालय संचालन हुनेमा आफू विश्वस्त रहेको पनि शर्माले बताउनुभयो ।
लायन्स क्लब अफ वीरगंजका अध्यक्ष पप्पु श्रीवास्तवको सभापतित्वमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडा नम्वर ५ का वडाध्यक्ष प्रदीप चौरसिया, वडा नं. ६ का वडाध्यक्ष जयप्रकाश साह, लायन्स क्लब अफ वीरगंजका भुतपूर्व अध्यक्ष बलराम श्रेष्ठ, छेदुप लामा, विनित जयसवाल, ग्रिन सिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतान लगायतको सहभागिता रहेको थियो ।
रणवीर कपुर स्टारर ‘एनिमल’ले भारतमा ६३.८० करोड भारु नेट ओपनिङ गरेको छ । जसमा हिन्दी संस्करणबाट ५४.७५ करोड भारु र दक्षिण भारतीय संस्करणबाट ९.०५ करोड भारु छ ।
‘एनिमल’ले शुक्रबार नेपालमा १.५० करोड नेरुको ओपनिङ गरेको छ ।
‘एनिमल’ बलिउड फिल्म इतिहासमा तेस्रो सर्वाधिक ओपनिङ गर्ने फिल्म हो । ‘जवान’ले ६५.५० करोड भारु, ‘पठान’ले ५५ करोड भारु र ‘एनिमल’ले उक्त कमाइ गरेका हुन् । ओपनिङ कमाइमा एनिमलले केजीएफ २ र वारलाई पनि उछिनेको छ ।

वीरगञ्ज । “मधेस युनाइटेड नेसन्स सिमुलेशन” वैचारिक युवा समाज र अमेरिकी दूतावासद्वारा आयोजित संयुक्त राष्ट्र सङ्घको एउटा नमुना सम्मेलन हो ।
सम्मेलनले मधेस प्रदेशका विभिन्न भागका विद्यार्थी र युवा वर्गलाई संयुक्त राष्ट्र सङ्घको कार्य प्रणालीसँग परिचित हुन र प्रमुख विश्वव्यापी मुद्दा र घटनाबारे छलफल गर्ने अवसर प्रदान गर्दछ । सम्मेलन अन्तर्राष्ट्रिय स्तरको शैक्षिक फोरम हो, जसको मूल उद्देश्य सहभागीमा अनुसन्धान, नेतृत्व, कूटनीतिक बहस, लेखन र विशेष गरी बौद्धिक विश्लेषण जस्ता सीप वृद्धि गर्नेमा केन्द्रित छ ।
त्यसै गरी युवाहरूको जीवनमा अर्थपूर्ण प्रभाव सिर्जना गर्ने, र बौद्धिक रूपमा सचेत विश्वव्यापी नागरिक बन्न उनीहरूलाई सहयोग गर्ने दीर्घकालीन दृष्टिकोणका साथ यो कार्यक्रम अघि बढ्दै आएको छ ।
सन् २०१४ मा, वैचारिक युवा समाजले नेपालमा पहिलो विश्वविद्यालय स्तरको अन्तर्राष्ट्रिय मोडल संयुक्त राष्ट्र सङ्घ एभरेस्ट इन्टरनेशनल मोडल युनाइटेड नेसन्स (इआइएमयुएन) बाट आफ्नो यात्रा सुरु गरेको थियो । सन् २०१६ देखि संस्थाले नेपालमा स्थित अमेरिकी दूतावाससँग सहकार्य गरी इआइएमयुएन सञ्चालन गर्दै आएको छ ।
सम्मेलन “ रोड टु इआइएमयुएन” अभियानअन्तर्गत पर्ने प्रादेशिक स्तरको सम्मेलनमध्ये एक हो । यस वर्ष “मधेस युनाइटेड नेसन्स सिमुलेशन” को तेस्रो संस्करण वीरगञ्जमा आयोजना हुँदै छ । तिन दिनसम्म चलने सम्मेलनमा सहभागिताको लागि आवेदन फारम खुला गरिएको छ । सम्मेलनमा भाग लिनको लागि तपाईँ यहाँ क्लिक गरेर फारम भर्न सक्नु हुन्छ ।
कार्यक्रमको बारेमा थप जानकारीका लागि तपाईँले युथ्स थिन्कर्स सोसाइटी र एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्सको सामाजिक सञ्जालमा गएर लिन सक्नु हुनेछ । युवाहरूको लागि एमयुएन एउटा सुनौलो अवसर रहेकोले यसलाई नछुटाउन आयोजकहरूको आग्रह छ ।

विराटनगर, १३ मंसिर । विराटनगरमा भ्रामक÷मिथ्या सूचना विरुद्धको कार्यशाला हुने भएको छ । नेपालस्थित अमेरिकी दुतावास अन्तर्गतको युवा परिषदमा आबद्ध युवाहरुको समूह, प्रोजेक्ट जागरणले भ्रामक÷मिथ्या सूचना विरुद्ध युवाहरुलाई सशक्त पार्ने उदेश्यले कार्यशाला आयोजना गर्न लागेको हो ।
यहि मंसिर १४ र १५ गते विराटनगरस्थित शिक्षादीप कलेज र अरनिको कलेजमा कार्यशाला आयोजनाको तयारी हुँदैछ । कार्यशालामा युवा परिषदमा आबद्ध युवाहरुले भ्रामक÷मिथ्या सूचना विरुद्ध तयार पारेका सामाग्रीहरु प्रस्तुत गर्नेछन् । करिब दुई घण्टासम्म चल्ने कार्यशालाका सहभागिहरुले सहि सूचना र मिथ्या सूचना बीचको फरक छुट्टयाउन विभिन्न विधीहरुसमेत सिकाइने छ ।
मगलबार बिहान पत्रकारहरुसँगको भेटघाटमा प्रोजेक्ट जागरणकी संयोजक श्रृजा खनालले मिथ्या सूचनाको प्रभाव केही हदसम्म न्युन गर्न प्रोजेक्ट जागरण सुरु गरेको बताइन् । “सामाजिक सञ्जालमा मिथ्या सूचनाको बाढी नै छ,” उनले भनिन्,“केही हदसम्म न्युन गर्न र सर्वसाधारणलाई मिथ्या सूचना र सहि सूचना बीचको फरक बुझ्न सजिलो बनाउन हामीले प्रोजेक्ट जागरण सुरु गरेका हौं।”
उनका अनुसार प्रोजेक्ट जागरण गलत÷भ्रामक सूचना विरुद्ध युवाहरुलाई सचेत पार्दै समुदायलाई सशक्त पार्ने अभियान हो ।