वीरगंज । जनता समाजवादी पार्टीले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह माथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
पार्टीको वीरगंज महानगर कार्य समितिका अध्यक्ष इश्वरचन्द्र यादवको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई ज्ञापन पत्र बुझाउँदै महानगर प्रमुखमाथि दुव्र्यवहार गर्ने शिव ओम लामिछाने र उनका छोरा सुदर्शन लामिछानेलाई कारबाही गर्न माग गरेको हो ।
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै महानगर अध्यक्ष यादवले महानगर प्रमुख सिंहमाथि दुव्र्यवहार गर्ने दुबैलाई तत्काल नियन्त्रणमा लिएर कारबाही नगरे आफूहरु पनि आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए ।
हालै आएको अविरल वर्षापछि वीरगंज महानगरपालिकाको वडा नं. १७, २०, २४ र २६ को दर्जनौं घरसहित सयौँ विघा जग्गामा लगाइएको धानबाली डुबानमा परेको र त्यसले आफूहरुको जनजीवन नै अस्तव्यस्त बनाएको भन्दै स्थानीयले उद्धारका लागि निवेदन दिएपछि महानगर प्रमुख सिंह प्राविधिक टोलीसहित सोमबार उक्त क्षेत्रमा पुगेका थिए ।
सम्बन्धित वडा अध्यक्षमार्फत समस्या समाधानको प्रयास भए पनि निकास ननिस्किए पछि प्राविधिक सहित स्थलगत अवलोकनमा पुगेका बेला महानगर प्रमुख सिंह माथि वडा नं. १७ अलौमा लामिछानेद्वयले दुव्र्यवहारको प्रयास गरेका थिए ।
महानगर प्रमुखमाथि दुव्र्यवहारको प्रयास गर्नु निन्दनीय र अराजक रहेको भएको भन्दै उनीहरुलाई कारबाही गरी त्यस क्षेत्रका डुबान पीडित नागरिकको समस्या तत्काल समाधान गर्न ज्ञापन पत्र मार्फत प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरिएको छ ।
पानी निकासको विषयलाई अहिले राजनीतिक रंग दिन खोजिएको भन्दै आपत्ति समेत जनाएको छ । साथै घटनाको बारेमा यथार्थ नबुझी गाउँलेलाई डुबानमै राखिरहने राजनीति भएको भन्दै महानगर अध्यक्ष यादबले पार्टीले त्यसको भण्डाफोर गरेर गाउँलेलाई डुबानबाट बचाउन आफूहरु लागि पर्ने पनि बताए ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुषालले घटनाको बारेमा यथार्थ बुझेर कारबाही गर्न आफू तयार रहेको प्रतिकृया दिए । उनले त्यस क्षेत्रका नागरिक डुबानबाट वास्तवमै पीडित रहेको र आफूहरुकोमा पनि निवेदन दिएको बताउँदै डुबानबाट बचाउन सबै लाग्नु पर्नेमा जोड दिए ।
ज्ञापन पत्र बुझाउन जसपा नगर अध्यक्ष इश्वर चन्द्र यादव, उमेशलाल सहनी, तुफान अन्सारी, मुस्तकिम अन्सारी, कलाम मियाँ, नुर आलम अन्सारी, विष्णु पटेल, वकिल मियाँ, हरेन्द्र साह, दिपु वर्मा, संगिता दास लगायतको सहभागिता रहेको थियो ।
प्रदेश खबर
‘ब्रह्म चारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी’ अर्थात् सच्चितानन्दमय ब्रह्मस्वरूपको प्राप्ति गराउन जसको स्वभाव हो, उनलाई नै ब्रह्मचारिणी भन्दछन्। नवरात्र व्रतमा माता भगवतीको दोश्रो रूप ब्रह्मचारिणी माताको हो। नवरात्रको दोस्रो दिन यिनकै विग्रहको पूजा आराधना गरिन्छ।
हातमा कमण्डलु र अभय मुद्रा माता ब्रह्मचारिणीको स्वरूप हो। यिनको यो स्वरूप परम शान्तिदायक र कल्याणकारी हुन्छ। माता ब्रह्मचारिणीकोे कृपाले साधकको समस्त पाप र विघ्न–बाधा नष्ट भइहाल्छ। यिनको उपाशक शेरको समान पराक्रमी र निर्भय भइहाल्दछ।
दशैंघरमा प्रथम दिन विधिपूर्वक घटास्थापना गरिसकेपछि शैलपुत्रीको पूजा गरिन्छ भने दोश्रो दिन भगवतीको ब्रह्मचारिणी रूपको पूजा–अराधना गरी मनाइन्छ। पूजा स्थानमा श्री दुर्गा सप्तशतीको पाठ गरिन्छ।
श्री दुर्गा सप्तशती संस्कृत भाषामा विभिन्न ऋचा, स्तोत्र, मंत्र तथा कथाको रूपमा रहेको पाइन्छ। श्री दुर्गा सप्तशतीमा सप्तश्लोकी दुर्गा, श्री दुर्गाष्टोत्तरशतनामस्तोत्रम्, देवि कवच, अर्गलास्तोत्र, कीलक, वेदोक्त रात्रिसूक्त, तन्त्रोक्त रात्रिसूक्त, श्रीदेव्यथर्वशीर्षम्, नवार्णविधि तथा सप्तशती न्यासको पाठ दुर्गा पाठको पूर्वा·को रूपमा गरिन्छ।
त्यसपछि वास्तविक पाठ सुरू हुन्छ। मुख्य पाठमा जम्मा १३ अध्यायहरू रहेका छन्। ती अध्यायहरूलाई भगवतीको तीन चरित्रहरूमा विभाजन गरिएको छ।
प्रथम चरित्रको पाठ महाकालीको अराधना तथा उनको प्रशन्नताको लागि गरिन्छ। यसमा प्रथम अध्यायको मात्र पाठ हुन्छ जसमा मार्कण्डेय ऋषिले सूर्यपुत्र सावर्णि भगवतीको अनुग्रहले कसरी मन्वन्तरको स्वामी हुन पुगे ?
राजा सुरथले शत्रूहरूवाट पराजित भएर आफ्नो राज्य गुमाईसक्दा पनि माता भगवतीको अराधनाबाट फेरि आफ्नो गुमिसकेको राज्यश्री प्राप्त गर्न सफल भए भने कथाको साङ्गोपाङ्गो वर्णन छ। यसै अध्यायमा मधु कैटभ नामक दुई भयानक राक्षस दाजुभाइहरूको भगवान विष्णुद्वारा वध भएको बारेमा कथा वर्णित छ।
प्रथम चरित्रपछि मध्यम चरित्रको पाठ गरिन्छ। मध्यम चरित्रमा दोश्रो, तेश्रो तथा चौथो अध्याय पर्दछन्। यी तीन अध्यायहरूमा महिषासुर वधको कथा वर्णित छ।
मध्यम चरित्रको पाठ भगवती महालक्ष्मीको अराधना तथा प्रशन्नताको लागि गर्ने गरिन्छ। यस प्रस·मा महिषासुर राक्षसका सहायक राक्षसहरू यथा–चिक्षुर, चामर, उदग्र, महाहनु, असिलोमा, बाष्कल, बिडाल, दुर्धर, दुर्मुख आदि राक्षसहरूको वधको कथा वर्णित छ।
यी दुई चरित्रपछि उत्तर चरित्रको पाठ हुन्छ। उत्तर चरित्रमा पञ्चम् अध्यायदेखि १३ अध्यायसम्म जम्मा आठ अध्यायहरूको पाठ हुने गर्दछ। उत्तर चरित्रको पाठ श्री महासरस्वतीको अराधना तथा प्रशन्नताको लागि गरिन्छ।
यस प्रसंमा चण्ड–मुण्ड, धूम्रलोचन, रक्तबीज, निशुम्भ, शुम्भजस्ता भयानक राक्षसहरूको वधको कथा वर्णित छ। तदन्तर देवताहरूद्वारा देवीको स्तुति तथा देवीद्वारा देवताहरूलाई वरदान, देवी चरित्रको पाठको महात्म्य तथा अन्त्यमा राजा सुरथ र वैश्यलाई देवीको वरदानका कथाहरू वर्णित छन्।
तीनवटा चरित्रको पाठ गरिसकेपछि फेरि विनियोग, ऋष्यादिन्यास, करन्यास, ह्दयादिन्यास, अक्षरन्यास, दिङन्यास, देवीको ध्यान गरेर नवार्ण मन्त्रको जप गरी ऋग्वेदोक्त देवीसूक्त, तन्त्रोक्त देवीसूक्त, प्रधानिक रहस्य, वैकृतिक रहस्य, तथा मूर्तिरहस्यको पाठ पढेपछि क्षमाप्रार्थना गरेर पाठको समापन गरिन्छ।
दुर्गाद्वात्रिंशन्नाममाला, सिद्ध कुञ्जिका स्तोत्र तथा दुर्गा मानस पूजा ऐच्छिक पाठ हो। दुर्गा पाठका अन्यान्य अरू पनि पाठका प्रकारहरू अस्तित्वमा छन्। राम्रो पाठ गर्ने पाठकको लागि केही नियमहरू पनि भी निर्दिष्ट छन–माधुर्यमक्षरव्यक्तिः पदच्छेदस्तु सुस्वरः। धैर्यं लयसमर्थं च षडेते पाठका गुणाः।।
अर्थात्, अक्षराभिव्यक्तिमां मधुरता, पदच्छेदनमा निपूणता तथा सुस्वर बाट पाठ, धैर्य तथा लयसमर्थ आदि छववटा पाठक को गुण मानिन्छ।
त्यस्तै–गीती शीघ्री शिरःकम्पी तथा लिखितपाठकः। अनर्थज्ञोअल्पकण्ठश्च षडेते पाठकाधमाः।। अर्थात् छिटो छिटो गाउनु,, टाउको हल्लाई–हल्लाई पाठ गर्न, हस्तलिखितप्रति पाठ गर्न, अर्थ के ज्ञान न हुनु, कण्ठस्थ पाठ गर्नु आदि छ वटा अधम पाठकहरूको गुण हो।
आजको लागि हामी माता भगवतीको रूपको स्मरण गरौं–ॐ बालरविद्युतिमिन्दुकिरिटां तु·कुचां नयनत्रययुक्ताम्। स्मेरमुखीं वरदाड्ढुशपाशाभीतिकरां प्रभजे भुवनेशीम्।
महानगरको प्रयासले नेपाल सरकारको नाममा आयो अरबौँको जग्गा, रेल्वेरोडको ३२ कट्ठा जग्गा सार्वजनिक कायम
वीरगंज । वीरगंजको छपकैयाँ स्थित रेल्वेरोडसँगै जोडिएको अरबौँ मुल्य पर्ने करिब ३२ कट्ठा जग्गा सार्वजनिक कायम भएको छ ।
विगत लामो समय देखी भूमाफियाहरुले नक्कली कागजात खडा गरी स्वमीत्वको विवाद देखाउँदै आएको उक्त जग्गालाई मालपोत कार्यालय पर्साले सार्वजनिक कायम गर्दै नेपाल सरकारको नाममा गर्ने फैसला गरेको हो ।
तारा चन्द केडिया, जगदीश नारायण साह कानु, इन्दु देवी, तारणी विक्रम शाह, शरद विक्रम शाह हरिनारायण गुप्ता लागायतले आफ्नो दावी गर्दै किचलो गर्दै आएका थिए ।
तर उक्त जग्गा २०४६ सालमा नयाँ नापी हुदा जग्गाधनी महल खाली रही कोही कसैले आवाद नगरेको अवस्थामा हुँदा पनि भूमाफियाहरुले कब्जा गर्न खोजेको देखेपछि संस्थागत रुपमा नै वीरगंज महानगरपालिकाको २०८० असोज २६ गतेको बोर्ड बैठकले सार्वजनिक कायम गर्नु पर्ने निर्णय गर्दै मालपोत कार्यालय पर्सामा निवेदन दिएको थियो ।
जसमा बुधबार मालपोत कार्यालयले व्यक्तिगत दावीलाई खारेज गर्दै महानगरपालिकाको पक्षमा जग्गा सार्वजनिक कायम हुने गरी नेपाल सरकारको नाममा गर्ने निर्णय गरेको हो ।
मालपोत कार्यालय पर्साको बुधबारको निर्णय सार्वजनिक जग्गा संरक्षणमा महानगरले चालेको कदममा महत्वपूर्ण सफलता भएको महानगर प्रमुख राजेश मान सिंहले बताउनुभयो ।
विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०६८ जेठ ४ गतेको निर्णय अनुसार ताराचन्द केडियाको नाउँमा मालपोत कार्यालय पर्सामा दर्ता रहेको कित्ता नम्वर ११७ र ९७ नम्वरको जग्गा व्यक्तिको नाम खारेज गरी नेपाल सरकारको नाउँमा लालपूर्जा बनाएर जिल्ला प्रशासन कार्यालय पर्सामा दिनु भनेर आदेश दिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णय र सोही निर्णयको आधारमा भूमिसुधार विभागको निर्देशनमा केडियाको जग्गा नेपाल सरकारको नाउँमा गर्ने निर्णय विरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर भएको थियो ।
सर्वाेच्च अदालतका न्यायधीस इश्वर खतिवडा र हरि प्रसाद फुयाँलको २०७९ साउन २६ गते बसेको सयुक्त बेन्चले अख्तियार अनुसन्धान आयोगको ठाडो निर्देशनमा मालपोत कार्यालय पर्साले व्यक्तिको नाउँमा रहेको जग्गा नेपाल सरकारको नाउँमा कायम गर्ने निर्णय बदर गरिदिएको थियो । सर्वाेच्चले जग्गाको हकदावी र कागजपत्र बुझि फैसला गर्ने अधिकार मालपोत कार्यालय पर्सालाई दिएको थियो ।
सर्वाेच्च अदालतको निर्णयलाई आधार बनाएर मालपोत कार्यालय पर्साले कित्ता नं. ११७ र ९७ दावी गर्ने व्यक्तिहरुलाई प्रमाणसहित हकदावी गर्न पत्राचार गरेको थियो । उक्त जग्गाको मुद्दा पटक पटक तारेख तोकेर बुधबार मालपोतले फैसला गरेको हो ।
बुधबार मालपोत कार्यालय पर्सामा भएको बहसमा ताराचन्द्र केडीयाको पक्षबाट अधिबक्ता बाल मुकुन्द खरेल, महानगरपालिकाको तर्फबाट अधिवक्ता कमलमोहन पोखरेल र कानुन अधिकृत अधिबक्ता इश्वर बरालले बहस पैरवी गरेका थिए भने अन्य पक्षका तर्फबाट पक्षहरु स्वयम् उपस्थित भई प्रमुख मालपोत अधिकृत डमरु प्रसाद निरौलाको इजलासमा आफ्नो नाममा दर्ता हुनुपर्ने मागदावी पेस गरेका थिए ।
प्रमुख मालपोत अधिकृत डमरु प्रसाद निरौलाको अर्धन्यायिक इजलासले मालपोत ऐन २०३४ को दफा २४ (२) बमोजिम नेपाल सरकारको नाममा कायम गर्ने फैसला सुनाएको हो ।
साविक छपकैया गाविस “वी” वडा नंं ९ हाल वीरगंज महानगरपलिका वडा नं. २ मा रहेको नारायणी अस्पतालसँगै जोडिएको पूर्व पट्टीको ३२ कठ्ठा जग्गा आफ्नो दावी गर्दै केडिया परिवार सहित ७ जना व्यक्तिले आफ्नो भएको दावी सहित मालपोत, नापी हुदै सर्वाेच्च अदालत सम्म पुगेका थिए ।
११ असोज, वीरगंज । इनइलमरहेल्भाटासको आर्थिक सहयोगमा आमा नेपाल फाउन्डेशन तथा वीरगंज नेपाल विजनेश कन्सलटेन्सी प्रा.लि.को सयुक्त आयोजनामा महिला उद्यमशिलता तथा महिला स्वरोजगारको लागि १५ दिने निःशुल्क हस्तकला समाग्री उत्पादन मकैको खोस्टा तथा बाँसको चोयाबाट निर्मित फुल, फुलका बुके, फुल राख्ने बास्केट तथा ढाकीको सामाग्रीहरुको तालिम भएको थियो । तालिम मिति २०८१ भाद्र २७ मा उद्घाटन भई आज समापन भएको थियो ।
स्थानीय स्त्रोत साधन तथ, खेर गईरहेको वस्तुबाट आर्थिक उपार्जनस महिला उद्यमी तथा महिला स्वरोजगारको विकास गर्नको लागि आमा नेपाल फाउन्डेशनको बर्षौको प्रयास तथा इनइलमरहेल्भटासको विश्वास र आर्थिक सहायता, वीरगंज नेपाल बिजनेश कन्सलटेन्सी प्रा.लि.को सहकार्यताले साकार रुप लिई आज वीरगंजका स्थानीय महिलाहरुले यस आमा नेपाल फाउन्डेशनको वर्षौको प्रयासलाई पहिलो पटकमै साकार र सफल बनाईदिनु भएकोमा धेरै खुसी लागेको कुरा आमा नेपाल फाउन्डेशनका अध्यक्षले बताउनु भएको थियो ।
आमा नेपाल फाउन्डेशनको कार्यालयमा १५ दिन सम्म चलेको यस हस्तकला सामाग्री उत्पादन तालिमको वीरगंज स्थित होटल मकालुमा आज समापन कार्यक्रम राखिएको थियो ।
समापन कार्यक्रमसँगै आज सहभागीहरुले मकैको खोस्टा तथा बाँसको चोयाबाट निर्मित सामाग्री प्रदर्शनी कार्यक्रम पनि राखिएको थियो । प्रदर्शनी कार्यक्रममा मधेश सरकारका मुख्य न्यायाधिवक्त्ता श्री सुरेन्द्र कुमार महतो ज्यू, मधेश विश्वविद्यालयका उपकुलपति श्री दिपक शाक्य ज्यू, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष श्री अनिल कुमार अग्रवाल ज्यू, वरिष्ठ महिला समाजसेवी श्री उषा शाह ज्यु, वीरगंज नेपाल बिजनेश कन्सलटेन्सी प्रा.लि.का प्रबन्ध निर्देशक सुनिल कुमार साह ज्युले अवलोकन गर्नु भएको थियो ।
अवलोकनकर्ताहरुलाई आमा नेपाल फाउन्डेशनका सदस्यहरुले मकैका खोस्टाबाट निर्मित फुलको ब्याज लगाई स्वागत गरिएको थियो । अवलोकन पश्चिात समापन कार्यक्रम सञ्चालन भएको थियो । समापन कार्यक्रममा महिला समाजसेवी श्री उषा शाह ज्युले महिलाहरुले निर्माण गरेको हस्तकला तथा समाग्रीको बजारीकरण तथा प्रदर्शनीको लागि उद्योग वाणिज्य संघले सहयोग गरी व्यवस्था मिलाई महिला उद्यमी तथा महिला स्वरोजगारको बढावा दिनु पर्ने धारणा राख्नु भएको थियो ।
महिला उद्यमी तथा महिला स्वरोजगार विकासको लागि वीरगंज उद्योग वाणिज्य संघ तत्पर रहेको तथा यस आमा नेपाल फाउन्डेशनद्वारा दिइएको तालिम र तालिम पश्चात निर्मित उत्पादनको बजारिकरणको व्यवस्थामा के सहयोग गर्न सकिन्छ त्यसमा छलफल गरि महिला उद्यमी तथा महिला स्वरोजगारको सुनिश्चितताको लागि अग्रसर हुनेछु तथा आमा नेपाल फाउन्डेशनलाई वीरगंज उद्योग वाणिज्य संघबाट आयोजना हुने टे«ड प्रमोशन एक्सपो तथा प्रदशर्नीमा निःशुल्क स्टलको व्यवस्था मिलाईने छ भनी वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष श्री अनिल कुमार अग्रवालले भन्नुभएको थियो तथा यस मकैको खोस्टा तथा बाँसको चोयाबाट निर्मित स्थानीय हस्तकला सामाग्रीको बजारीकरणको लागि अध्ययन तथा सम्भाव्यताको खोजी गरी राष्ट्रिय बजार तथा अन्तराष्ट्रिय बजारको खोजी गर्न सहयोग गर्ने छौं भनी प्रतिवद्धता जनाउनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवामा विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका ९ जना आज विहान करिब ३ः०० बजेको समयमा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता अरञ्जन अवाले हिरासतबाट ९ जना फरार भएको पुष्टि गरेका छन् । सो मध्ये एक जना जनकपुरको जनकचोकबाट पक्राउ परेको उनले जानकारी दिए । अझै ८ जना फरार रहेका छन् ।
आज (सोमबार) बिहान करिब सवा ३ बजेको समयमा हिरासत कक्षको भेन्टिलेशन फोडेर ८ जना फरार भएको हो । फरार मध्येहरुमा ५ जना लागु औषध मुद्दामा अभियुक्तहरु थिए भने बाँकी ३ जना अभद्र व्यवहार मुद्दाका थुनुवा हुन् । उनीहरुमध्ये महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ५ बस्ने श्याम झा भने जनकचोकबाट पक्राउ परेका हुन् ।
अमित कुमार झा, रँजीत मण्डल, रोशन मण्डल, भास्कर यादव, विशाल मुखिया लागु औषध मुद्दाका थुनुवा हुन । यस्तै, सुमित मेस्तर, मनिष मण्डल र विक्की कार्की अभद्र व्यवहार मुद्दाका अभियुक्त हुन् ।
फरार भएका अभियुक्तहरु :-

जिल्ला प्रहरी कार्यालय धनुषाको नयाँ भवनको १० फिटमाथि पुगेर भेन्टिलेटरको रड काटेर थुनुवाहरु फरार भएका हुन्। थुनुवाहरुले रड काट्न ह्याक्सो ब्लेडको प्रयोग गरेका थिए। थुनुवा कक्षमा रड काट्न ह्याक्सो ब्लेडको पहुँचमा कसरी उनीहरु पुगे भन्ने बारेमा अनुसन्धान भइरहेको डिएसपी रञ्जन अवाले जानकारी दिए ।
थुनुवा कक्ष जस्तो संवेदनशील स्थानमा चौबिसै घण्टा प्रहरी तथा सिसिटिभीको निगरानी रहँदा पनि लापरवाही प्रहरीको लागि चुनौतीको विषय भएको नागरिक समाजका अगुवा महाशंकर ठाकुर बताउँछन्।
थुनुवाहरुको कक्ष सम्म रड काट्न प्रयोग हुने ह्याक्सो ब्लेड पुग्नु, घण्टौंसम्म रड काट्न समय लाग्ने भएपनि प्रहरीले सुईको सम्म नपाउनु जस्ता विषय शंकास्पद रहेको छ।
३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ ।
कार्यक्रममा मधेश प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले प्रस्तुत गनुृ भएको आ.व.२०८०।८१ को बार्षिक प्रगति प्रतिवेदन अनुसार मधेश प्रदेशको पुरुष तर्फ दिवसिय अन्तरगत खेलेका खेलेका ९ खेलमा ६ मा जित तथा ३ मा हार व्योहोरेको तथा टि २० अन्र्तगत २६ खेलमा १७ जित तथा ९ खेलमा हार व्योहोरेको जानकारी गराएका थिए त्यसैगरि महिला तर्फ ८ खेलमा ३ जित तथा ५ खेलमा हार व्योहोरेको जानकारी गराएका थिए ।
त्यसै गरि सचिव श्रेष्ठले पेश गरेका आ.व.२०८१।८२ को बार्षिक कार्यक्रम अनुसार मधेश प्रिमियिर लिगको आयोजना, ८ वटै जिल्ला बिच रातो बलले लामो क्रिकेटको प्रतियोगिता, उत्कृष्ट महिला तथा पुरुष खेलाडिलाई नगद सहित सम्मान लगायतको कार्यक्रम पेश गरेका थिए भने मधेश प्रदेशका क्यानले बाहेकका बढिमा ५ खेलाडिलाई जिविकोपार्जनका लागि तलवको व्यवस्थापन गर्ने र यस बर्ष प्रदेशबाट खेल्ने सम्पुर्ण खेलाडिलाई करार सम्झौता गरि अनुबन्धित गर्ने समेत कार्यक्रम पेश गरेका थिए ।
कार्यक्रममा बोल्दै पर्सा जिल्ला क्रिकेट संघका अध्यक्ष मनिश सिंहले मधेश प्रदेशमा ८ वटै जिल्लाले क्रिकेट खेल्ने भएको र उत्कृष्ट खेलाडिहरुले भरिएको समेत भएकोले नयाँ खेलाडिलाई आफनो दावेदारी पेश गर्न समेत कठिनाई पर्ने हुनाले यस बिषयमा नेपाल क्रिकेट संघले आवश्यक पहल गर्न तर्फ ध्यान दिनु पर्ने भन्दै आफनो जिकिर राखेका थिए ।
कार्यक्रममा बिरगंज महानगरपालिकाका नगर प्रमुखले ईलाइट कपलाई भब्यताका साथ सम्पन्न गर्न कुनै कसर बाकि नराख्ने र पर्सा क्रिकेट संघले गर्ने कार्यलाइ नगरपालिका सदैव साथ रहेको जानकारी समेत गराउनु भएको थियो ।
त्यसै गरि कार्यक्रममा उपस्थित खेलकुद तथा सामाजिक मन्त्री प्रमोद जयसवालले क्रिकेटको बिकासको लागि मधेश सरकार सदैव साथ रहेको र मधेश प्रिमियर लिग तथा क्रिकेटका अन्य गतिबिधी संचालनका मधेश प्रदेश क्रिकेट संघसंग सहकार्य गर्ने जानकारी समेत गराउनु भएको थियो ।
कार्यक्रममा जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेय, बाराका अध्यक्ष प्रभात चौरसिया, पर्साका अध्यक्ष मनिश सिंहले तथा नेपाल क्रिकेट संघका पुर्व सदस्य दाउद अन्सारी लगायतले आफना मन्तव्य राखेका थिए । मधेश प्रदेशका खेलकुद तथा सामाजिक मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्ष मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल कुमार महासेठले गरेका थिए भने स्वागत मन्तव्य मधेश प्रदेश क्रिकेट संघका सदस्य सत्रुघन साहले दिएका थिए ।
वीरगंज महानगरका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको तलब अबदेखि सोझै आफ्नै खातामा जाने
वीरगंज – वीरगंज महानगरपालिकाले महानगरभित्रका सामुदायिक शिक्षकहरुको तलब अबदेखि सोझै शिक्षकहरुकै व्यक्तिगत खातामा जाने प्रबन्ध मिलाएको छ । विगतमा विद्यालयमा पठाएर तलब बुझ्दै आएका शिक्षकहरुले अबदेखि भने आफ्नै खातामा मासिक रुपमा तलब बुझ्ने भएका हुन् ।
महानगरपालिकाले बुधबार सूचना निकाल्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरुलाई आफ्नो तलबी खाता खोलेर विवरण तत्काल उपलब्ध गराउन आह्वान गरेको छ ।
सूचनामा भनिएको छ, ‘महानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरुको तलब निजहरुकै व्यक्तिगत खातामा पठाउने निर्णयअनुसार सबैले नबिल बैंकमा खाता खोली विद्यालयगत रुपमा संकलन गरी आउँदो सोमबारभित्र आर्थिक प्रशासन महाशाखा (शिक्षा) मा बुझाउन अनुरोध छ ।’
यसअघि सामुदायिक विद्यालयको बैंक खातामा रकम जम्मा गर्ने गरिएकोमा अबदेखि भने सिधै सम्बन्धित शिक्षक कर्मचारीको खातामा तलब जाने व्यवस्था मिलाइएको महानगर प्रमुख राजेशमान सिंहले बताए । विद्यालयमा तलब भत्ता पठाउँदा शिक्षकहरुले समयमै तलब बुझ्न नपाएको र उहाँहरुको दैनिकी पनि असहज भएको महसुस भयो,’ उनले भने, ‘त्यसैले अब देखि भने उहाँहरुको खातामा सोझै महानगरले नै तलब भत्ता पठाउँदा केही हदसम्म सहज हुने अपेक्षा छ ।’

महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले शिक्षक कर्मचारीले उपलब्ध गराएको नबिल बैंकको खातामा तलब पठाइने जानकारी दिए ।
विगतमा विद्यालयको खातामा तलब निकासा हुँदा समयमै तलब लिन शिक्षकहरुलाई झन्झट हुने गरेकोमा अब भने महानगरले शिक्षकहरुको समस्या बुझेर सोझै खातामा तलब जाने व्यवस्था मिलाएको पनि उनले बताए । ‘संचय कोष, नागरिक लगानी कोष र बीमा रकम भने विद्यालय मार्फत नै भुक्तानी गर्नु पर्ने भएकाले त्यो बाहेक शिक्षकहरुले खुद पाउने तलब भने अब सोझै शिक्षककै खातामा जाने व्यवस्था मिलाएका छौँ,’ उनले भने । महानगरमा रहेका ९१ वटै सामुदायिक विद्यालयमा यस्तो व्यवस्था लागू हुने पनि उनले जनाए ।
त्रिजुद्ध माद्यमिक विद्यालयका प्रधानाध्यापक नविन मिश्रले वीरगंज महानगरपालिकाले शिक्षकहरुको तलब मासिक रुपमा उनीहरुकै ब्यक्तिगत खातामा सोझै निकासा गर्ने व्यवस्था मिलाउनुलाई प्रसंसनीय भएको बताए । उनले यस अघि शिक्षकहरुलाई निकै सास्ती हुने गरेको भन्दै अब भने निजामति र सेना–प्रहरी सरह नै मासिक सोझै खातामा तलब पाउने सुन्दा उत्साहित बनेको सुनाउँछन् ।
शिक्षकको व्यक्तिगत खातामा मासिक रुपमा सोझै तलब जाँदा शिक्षकको जिवन सहज बनाउने भन्दै उनले वीरगंज महानगरपालिकाले शिक्षकहरुले उठाउँदै आएको माग र उनीहरुको समस्या सम्बोधन गरेर सार्वजनिक शिक्षा सुधारको काम गरेको पनि बताए ।
सरसफाईमा वीरगंज महानगर निर्मम, जथाभावी पर्चापम्प्लेट टाँस्दै गरेका एक जना नियन्त्रणमा
वीरगंज । वीरगंज महानगरपालिकाले शहरलाई कुरुप बनाउने गरी विद्युतका पोल तथा खाली भित्ताहरुमा ब्यानर, पोस्टर, पम्प्लेट टाँस्नेलाई कारबाही गर्न सुरु गरेको छ ।
केही समयदेखि नै महानगरपालिकाले जथाभावी पोस्टर–पम्प्लेट नटाँस्नका लागि आग्रह गरे पनि अटेर गरी टाँस्नेलाई समातेर कारबाही गर्न सुरु गरेको हो ।
आइतबार राति जथाभावी पर्चा, पम्प्लेट टास्दै गरेको अवस्थामा महानगरको सरसफाई टोलीले एक जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि प्रहरीमा बुझाएको छ ।
छिमेकी देश भारत रक्सौलका चिकित्सकको नाममा हाइड्रोसिल, बबासिर, भकन्दर, गुप्त रोग, चर्म रोग लगायतको रोगको उपचार हुने भन्दै वीरगंजका विभिन्न स्थानमा जथाभावी पम्प्लेट टाँस्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरिएको महानगरको सरसफाई शाखा प्रमुख सर्फुद्धिन मियाँले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतको जिल्ला लुधियाना ग्राम सिक्रीका संजय मलिक रहेका छन् । उनलाई थप कारबाहीका लागि वडा प्रहरी कार्यालय विर्तामा बुझाइएको मियाँले जानकारी दिए ।
विभिन्न शिक्षण संस्था, इन्स्टिच्युट, सीपमूलक तथा व्यावसायिक तालीम दिने संस्था र वैदेशिक अध्ययनमा पठाउने संस्थाका साथै भारतीय झोले छाप डाक्टरहरुले यसप्रकारको प्रचार सामग्री शहरका पोलपोल र भित्ताहरुमा टाँस्नुका साथै वितरण गर्ने गरेको पाइएको छ ।
महानगरको सरसफाई शाखा र नगर प्रहरीको टोलीले अहिले नियमितरुपमा अनुगमन गरी कारबाहीको प्रक्रिया अघि बढाएको सरसफाई शाखा प्रमुख मियाँले जानकारी दिए ।
घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बा (पोल) मा पम्प्लेट र पोष्टर टाँस्न नदिने गरि सडकलाई सफा बनाउने अभियानलाई महानगरले तिब्रता दिएको हो । शहरी सौन्दर्यमा असर पर्ने गरी विभिन्न प्रचार सामग्री टाँस्न र भित्तेलेखन गर्न महानगरले रोक लगाएको मियाँले बताए ।
मियाँका अनुसार यदि टाँस्दै गरेको भेटिए तत्कालै नियन्त्रणमा लिएर कारवाही अघि बढाउने महानगरको तयारी छ । ‘पोस्टरमा टास्ने र टाँस्न लगाउनेहरुलाई नगरको नियम अनुसार कारवाही गछौं,’ उनले भने, ‘महानगर क्षेत्रलाई सुन्दर बनाउन विशेष योजनाका साथमा हामी लागेका छौँ ।’
शहरभरि बिजुलीका पोल, पर्खाल, भित्ता, बसपार्क, बस स्टपलगायतका सार्वजनिक स्थलभरि पोष्टर र पम्प्लेटको बिगबिगी हटाउन लागिएको बताउँदै उनले अब त्यसरी पोस्टर पम्प्लेट टाँसिएको पाइएमा नियन्त्रणमा नै लिएर कडा कारबाही गर्ने चेतावनी दिए ।
पाइप किन मसिनो प्रयोग गरेको भनेपछि जन्नत अन्सारीले एक महिलालाई मार्ने (पिटने) धम्कि दिए ।
वीरगंज । पर्साको वीरगञ्ज महानगरपालिका– १३, मुर्लिमा खानेपानीको पाइप बिछ्याउँदा योजना इस्टिमेटमा भएको भन्दा मसिना पाइप प्रयोग गरिएको भन्दै स्थानीय महिलाले आवाज उठाउँदा जसपाका नेताले महिलामाथि दुर्व्यवहार गरेका छन् ।
वीरगञ्जका स्थानीय पूर्वपद्रेशसभा सदस्य जन्नत अन्सारीले ती महिलालाई नेतागिरी गर्ने भन्दै झण्डै हात हालेनन् । चार इन्च र तीन इन्चको पाइप हाल्नुपर्ने इस्टिमेटमा व्यवस्था भए पनि ती महिलाको घरअगाडि भने डेढ इन्चको पाइप प्रयोग गरिएपछि ती महिलाले विरोध जनाएकी थिइन् ।
ती महिलाले विरोध जनाएपछि पूर्वप्रदेशसभा सांसद अन्सारीले महिलामाथि दुर्व्यवहार गरेका हुन् ।
वीरगंज । बीरगन्ज वडा न ३ निवासी नजमा वेगमलाई पक्राउ गरी वादीको विगो दाखिला गर्न गराउन उच्च अदालत इजलास बीरगन्जले बिहीबार पुन: दोश्रो पटक आदेश गरेको छ । नेपाली कांग्रेस पर्सा क्षेत्र न २ को सभापती म.सहाबुदिन को पत्नी नजमा बेगम अहिले फरार रहेका छ्न। उच्च अदालत इजलास बीरगन्जले नजमा ले २०८१ जेठ २१ गते दायर गरेको निवेदन बिहीवार खारेज गर्दै कलैया वडा न ४ बस्ने दिपु प्रसाद गुप्तालाई विगो दाखिला गर्न आदेश गरेको छ ।
सहाबुदिनले २०७४ सालमा आफ्नो जग्गा बिक्री गर्ने भनी बैना स्वरुप बारा जिल्ला, कलैया उपमहानगरपालिका वडा नं.४ का दिपु प्रसाद गुप्तासंग ७५ लाख रुपया बुझेका थिए। पैसा लिएको कागज भने उनले आफ्नी पत्नी नजमा बेगमसंग गर्न लगाएका थिए।
साहसंग पटक-पटक गरि पैसा बुझेपछी सहाबुदिनले विभिन्न बहानामा जग्गा दिन आनाकानी गर्नथाले।
जग्गा पनि नदिने र पैसा फिर्ता गर्ने अवस्था समेत नदेखेपछी पांच वर्ष पछि २०७८ सालमा पिडित गुप्ताले बारा जिल्ला अदालतमा आफ्नो रकम फिर्ता गराईदिन माग गर्दै मुद्दा दायर गरे। अदालतले २०८० पुस ८ गते गुप्ताको पक्षमा फैसला गर्दै ७ दिन भित्रमा ७५ लाख रुपया अदालतमा दखिला गर्न आदेश दिएको थियो। बिगो दाखिला नगरे सो बराबरको कैद हुने फैसला आदेश भएपछी आतिएका सहाबुदिन दम्पत्ती २०८० माघ ४ गते बारा जिल्ला अदालतमा बिनती पत्र चढाउदै २०८० माघ मसान्त भित्र ३ किस्तामा गरि रकम दाखिला गर्ने सुबिधा प्रदान गरिदिन आग्रह गरेका थिए। सोही मितिमा अदालतले माग बमोजिमको फैशला गरेपनी नजमाले रकम दाखिला गरिनन। अदालतले माघ १४ गते प्रथम किस्ताको २५ लाख रुपया सहित स्वयम् हाजिर हुन आदेश गरेपनी उनिहरु फागुन ४ गते मात्रै हाजिर भएको र सो मितिमा जम्मा २१ लाख रुपया दाखिला गरि पुन: फागुन मसान्त सम्मको अन्तिम समय माग गरेका थिए।
नजमाको माग बमोजिम अदालतले फेरि एक पटक फागुन मसान्तसम्मको समय दियो तर उनले रकम दाखिला गरिनन। रकम दाखिला नगरेपछी जिल्ला अदालतले चैत १ गते बिगो रकम असुल गर्न उनको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । पर्सा प्रहरीले नजमालाई पक्राउ गर्ने आदेश बमोजिम उनको निवासमा पुग्दा उनी फरार भएकी थिइन ।
७५ लाख रुपया बुझाउनु पर्नेमा जम्मा २१ लाख रुपया मात्र अदालतमा दाखिला गरि ५४ लाख रुपया बुझाउन बाकी रहेकोले अदालतले पुन पक्राउ को आदेश दिएको छ ।
पिडित गुप्ताले भने अदालतको निर्णय र प्रमाण सहित आफ्नो बाकी ५४ लाख रुपया पाउनुपर्ने बताउदै आएका छन्।