वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह भारतको कोलकत्तामा गएका छन् । वीरगञ्जमा बन्ने अक्षरधामको स्वामिनारायण अक्षरधाम मन्दिरको निर्माणको प्रक्रिया अघि बढाउने विषयमा भेटघाट तथा छलफल गर्न महानगर प्रमुख सिंह कोलकत्ता गएका हुन् ।
महानगर प्रमुखसँगै महानगरका सद्भावना दूत नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्य, बरिष्ठ पत्रकार चन्द्रकिशोर झा र महानगर प्रमुखका स्वकिय सचिव सत्यराघ घिमिरे कोलकत्ता गएका हुन् ।
स्वामिनारायण अक्षरधाम ट्रष्टले वीरगञ्जमा अक्षरधाम मन्दिर निर्माण गर्ने बारे यसअघि छलफल भइसकेको छ । नेपालको प्रमुख प्रवेशद्वारको रुपमा रहेको वीरगञ्ज शंकराचार्य गेट नजिकै रहेको लक्ष्मीनारायण मन्दिरको करिब तीन बिघा क्षेत्रफल जमिनमा मन्दिर निर्माण गर्ने प्रक्रिया थालिएको छ ।
स्वामिनारायण वीरगञ्जको बाटो हुँदै मुक्तिनाथमा ६ महिनासम्म ध्यान साधना गर्न पुगेको इतिहासलाई जीवित राख्नका लागि पनि वीरगञ्जमा अक्षरधामको महत्व रहेको अक्षरधामका सन्तहरुले बताएका थिए ।
वीरगञ्जलाई धार्मिक पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नका लागि अक्षरधाम कोशेढुंगा साबित हुने महानगर प्रमुख सिंहको विश्वास छ ।

